काठमाडौं । उद्योग मन्त्रालय मातहतको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौंस्थित होटल र्याडिसनमा छापा मारेको छ । मन्त्रालयले होटलबाट १ सय ८४ वटा ग्यास सिलिन्डर बरामद गरेको छ ।
पर्याप्त मात्रामा ग्यास आपूर्ति भइरहे पनि उपभोक्ताले ग्यास नपाएको गुनासो बढेपछि विभागले विभिन्न होटल तथा व्यवसायिक प्रतिष्ठानमाथि निगरानी बढाएको थियो । सोही क्रममा होटलबाट नेपाल ग्यास र एसटीसी ग्यासका सिलिन्डर बरामद गरिएको हो ।
होटलका चुलोमा करिब ७० वटा सिलिन्डर प्रयोग भइरहेको पाइएको छ। सामान्यतः पाँचतारे होटलमा ठूलो परिमाणमा ग्यास राखिन्छ । केही दिनका लागि भण्डारण गर्दा पनि २०० सिलिन्डर भण्डारण गर्नु सामान्य हो ।
उद्योग मन्त्री गौरी कुमारीको सचिवालयले यति धेरै सिलिन्डर लुकाएर राखेको भन्दै विज्ञप्ति नै जारी गरेको छ ।
होटलमा नेपाल ग्यासका ११७ वटा फुल सिलिन्डर र एसटीसी ग्यासका ६७ वटा सिलिन्डर भेटिएका छन् ।
होटल लगायत व्यवसायीले ठूलो सिलिन्डरको ग्यास किन्न पाउनुपर्ने माग गर्दै आएका छन् । सामान्यतः ग्यास डिलरले एक पल्टमा गाडीमा ७० वटा सिलिन्डर ढुवानी गर्छन् । ठूला होटल लगायत माग धेरै हुने प्रतिष्ठानका लागि उनीहरूले एकसाताको लागि ग्यास डेलिभरी गरिदिएका हुन्छन् ।