काठमाडौं । समाचार लेखेकै विषयलाई लिएर वरिष्ठ पत्रकार किशोर श्रेष्ठ पक्राउ परेपछि पत्रकारिता क्षेत्र र राजनीतिक वृत्तबाट चौतर्फी विरोध भएको छ । पत्रकारसम्बन्धी विभिन्न संघसंस्था तथा राजनीतिक दलका नेताहरूले श्रेष्ठलाई तत्काल र निःशर्त रिहा गर्न माग गरेका छन् ।
दिपिका सिंहको जाहेरीका आधारमा प्रहरीले श्रेष्ठलाई बुधबार साँझ ललितपुरको कुसुन्ती क्षेत्रबाट घरतर्फ जाँदै गरेको अवस्थामा पक्राउ गरेको हो । व्यक्तिगत गोपनीयतासम्बन्धी मुद्दामा अनुसन्धानका लागि हिरासतमा राख्नुपर्ने भन्दै प्रहरीले उनलाई पक्राउ पुर्जी थमाएको बताइएको छ ।
श्रेष्ठलाई पक्राउ गरेपछि पत्रकारसम्बद्ध संघसंस्थाका प्रतिनिधिहरूले बुधबार साँझ नै काठमाडौं प्रहरी परिसर पुगेर विरोध जनाएका थिए । उनीहरूले समाचार लेखेकै आधारमा पत्रकारलाई पक्राउ गर्नु प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप भएको भन्दै तत्काल रिहाइको माग गरेका छन् ।