काठमाडौं । काठमाडौंको गोठाटारस्थित पहेलोपुल नजिक शनिबार राति भएको भीषण आगलागीमा १४ वटा पसल जलेर नष्ट भएका छन्। आगलागीमा फर्निचर, मोबाइल, कस्मेटिक, हेल्मेट, अटो, हार्डवेयर, किराना, स्टेशनरी, मिठाइलगायतका व्यवसायमा ठूलो क्षति पुगेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार रवीन्द्र भट्टराईले सञ्चालन गरेको काठको गोदाम तथा सटरमा करेन्ट सर्ट भएपछि राति करिब ९:१५ बजे आगलागी सुरु भएको थियो।
आगलागी नियन्त्रणका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयबासीको सहयोगमा ९ वटा दमकल र ३ वटा पानी ट्याङ्की परिचालन गरिएको थियो। करिब राति ११ बजे आगो पूर्ण रूपमा नियन्त्रणमा आएको प्रहरीले जनाएको छ।
आगो निभाउने क्रममा कागेश्वरी मनोहरा नगरपालिका–९ का ३७ वर्षीय नरेश थापा लडेर घाइते भएका छन्। उनको नगर अस्पताल मुलपानीमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टर पठाइएको छ।
आगलागीबाट ओम काष्ठ मिल उद्योग, रिकन्डिसन तथा हेल्मेट पसल, बासु फर्निचर, घिसिङ अटो रिकन्डिसन, रङ पसल, प्रेम गौतम रिकन्डिसन, मोबाइल पसल, हार्डवेयर पसल, मिठाई पसल, चिया पसल, हिमेश गौतमको फर्निचर, चटपटे तथा किराना पसल, कस्मेटिक पसल र स्टेशनरी पसल गरी १४ वटा व्यवसाय पूर्ण रूपमा प्रभावित भएका छन्।
प्रहरीले आगलागीबाट भएको क्षतिको विस्तृत विवरण संकलन गर्ने कार्य जारी रहेको जनाएको छ ।