असार १ गते मगर समुदायले धुमधामका साथ मनाउने भूमे पर्व केवल नाचगान मात्र होइन, भूमि देवतामाथिको आस्था, प्रकृतिप्रतिको सम्मान र समुदायको एकताको प्रतीक हो।
किंवदन्तीअनुसार गाउँलेहरूलाई दुःख दिने सर्प वास्तवमा भूमि देवता रहेको र उनको पूजा गरेपछि मानव क्षति तथा बाढीपहिरो रोकिन थालेको विश्वास गरिन्छ। त्यही घटनाको सम्झनामा भूमे पूजा र भूमे नाचको परम्परा सुरु भएको मानिन्छ।
रोल्पा, रुकुम, बागलुङ, दाङ लगायतका जिल्लाबाट सुरु भएको यो मौलिक पर्व आज काठमाडौंदेखि अमेरिका, जापान, बेलायत र कतारसम्म फैलिएको छ। परम्परागत मगर पोशाक, दमाहा, ट्याम्की, सहनाईको ताल र लेक–बुकीबाट फूल टिप्ने अनौठो संस्कारले भूमेलाई नेपालको सबैभन्दा जीवन्त सांस्कृतिक पर्वमध्ये एक बनाएको छ