काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पुथा उत्तरगंगा गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत बशिष्ट नारायण यादवसहितका कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
आयोगका अनुसार आर्थिक वर्ष २०७७/७८ मा रुकुम (पूर्वी भाग)को वडा नं. १२, छमारीस्थित बंगुर फार्म निर्माण योजनामा अनियमितता भएको ठहर गर्दै यादवसहित अन्य प्राविधिक तथा प्रशासनिक कर्मचारीविरुद्ध विशेष अदालत, काठमाडौँमा आरोपपत्र पेश गरिएको हो।
अनुसन्धानमा उक्त योजनामा नभएको कामलाई सम्पन्न देखाई नापी किताबमा अभिलेख तयार गरी बढी मूल्यांकनमार्फत रु. ९ लाख ६७ हजार ३७८ भुक्तानी गरिएको पाइएको आयोगले जनाएको छ।
यस प्रकरणमा यादवसँगै इन्जिनियर खुविराज शाही, सब-इन्जिनियर कमलप्रसाद के.सी., योजना शाखा प्रमुख चित्रबहादुर के.सी., सह-लेखापाल नवराज खड्का तथा वडा अध्यक्ष गंगा बहादुर पुनसमेतको संलग्नता देखिएको आरोप छ।
साथै कृषक समूहका अध्यक्ष सुजन पुनलाई पनि मतियारका रूपमा मुद्दामा समेटिएको छ।
आयोगले उनीहरूविरुद्ध सरकारी सम्पत्तिमा हानि-नोक्सानी पुर्याएको तथा दुरुपयोग गरेको आरोप लगाउँदै भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार बिगो असुल, जरिवाना र कैद सजायको मागदाबी गरेको छ। आरोप पत्रमा मुख्य अभियुक्तसरह सजाय माग गरिएको उल्लेख छ।
आयोगका प्रवक्ता सुरेश न्यौपानेले जारी गरेको सूचनाअनुसार मुद्दा दर्ता भई न्यायिक प्रक्रियामा प्रवेश गरेको छ।