काठमाडौं । निर्वाचनमा अप्रत्याशित पराजय व्यहोरेपछि कांग्रेस सभापति गगन थापाले नैतिक जिम्मेवारी लिँदै पदबाट राजीनामा दिएका छन् केन्द्रीय कार्यसमिति बैठकको मिति तय भएलगत्तै सभापति थापाले उपसभापति विश्वप्रकाश शर्मालाई राजीनामा बुझाएका हुन् ।
फागुन २१ मा भएको निर्वाचनमा कांग्रेसले नराम्रो हार व्यहोर्नुपरेपछि थापाले राजीनामा दिएर तत्काल नियमित महाधिवेशनतिर पार्टीलाई डोर्याउन चाहेको बुझिएको छ । ‘अबकि बार, सय पार’ भन्ने नारा नै बनाएको कांग्रेस प्रत्यक्षतर्फ १८ र समानुपातिकतर्फ २० सहित ३८ सिटमा सीमित भएको छ । सभापति थापा आफैं सर्लाही–४ मा ठूलै मतान्तरले रास्वपाका उम्मेदवार अमरेशकुमार सिंहसँग पराजित भएका थिए । सिंहले ३५ हजार ६ सय ८८ मतसहित विजयी हुँदा थापाले २२ हजार ८ सय ३१ मत मात्र ल्याएका थिए ।
पार्टी र आफैंले समेत निर्वाचनमा व्यहोरेको क्षतिबाट तनावमा रहेका थापाले केही दिनअघिदेखि नै राजीनामा बुझाउने तयारी गरिरहनु भएको थियो । २५ फागुनमा उपसभापति शर्मासँगको भेटमा नै थापाले राजीनामा दिनेबारे जानकारी गराएका थिए ।
भोलि चैत ६ गते बस्ने केन्द्रीय कार्यसमिति बैठकले सभापति थापाको राजीनामाबारे निर्णय गर्नेछ । निर्वाचनपछि पहिलोपल्ट बस्न लागेको बैठकमा निर्वाचनको परिणाम, नेतृत्वको जिम्मेवारी र संगठनात्मक कमीकमजोरी लगायतका विषयमा समीक्षा हुने कांग्रेस प्रवक्ता देवराज चालिसेले बताए ।
२७ देखि ३० पुससम्म भृकुटीमण्डपमा भएको कांग्रेस विशेष महाधिवेशनले थापाको १ सय ३४ सदस्यीय नेतृत्वमा नयाँ केन्द्रीय कार्यसमिति चयन गरेको थियो । त्यसको वैधानिकतालाई लिएर तत्कालीन सभापति शेरबहादुर देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्काले दायर गरेको रिट सर्वोच्चमा अहिले पनि विचाराधीन छ ।