नेपाल आयल निगम लिमिटेडले पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि गरेको छ । अन्तर्राष्ट्रिय बजारमा भएको मूल्य वृद्धि तथा आपूर्ति व्यवस्थापनको दबाबलाई कारण देखाउँदै निगमले आजदेखि पेट्रोल, डिजेल तथा मट्टीतेलको खुद्रा बिक्री मूल्य एकैपल्ट हालसम्मकै धेरै बढाएको छ ।
निगमका अनुसार नयाँ मूल्य आजैदेखि लागू हुनेगरी समायोजन गरिएको छ । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलमा प्रतिलिटर ३१ रुपैयाँ, डिजेल प्रतिलिटर ५४ रुपैयाँ तथा खाना पकाउने एलपि ग्यासमा २१६ रुपैयाँले वृद्धि भएको छ । तर, नेपालमा केही रुपैयाँ स्थिरीकरण कोषबाट व्यहोरिने गरी पेट्रोलमा प्रतिलिटर १५ रुपैयाँ र डिजेल, मट्टितेलमा प्रतिलिटर १० रुपैयाँ बृद्धि गरिएको हो । मूल्य वृद्धि भएसँगै अब एलपि ग्यास प्रतिसिलिन्डर दुई हजार १२६ रुपैयाँ कायम भएको छ ।
मध्यपूर्वमा देखिएको तनावका कारण पछिल्लो समय भारतमा इन्धनको चरम संकट उत्पन्न भइरहेको छ । नेपाल पेट्रोलियम पदार्थमा भारतसँग पूर्ण निर्भर रहेकाले क्षेत्रिए तनावको असर नेपालमा पनि देखिन सुरु भएको छ ।