रुकुम पश्चिम जिल्लामा भएका प्रमुख विकास निर्माणका कामहरू कुनै एक व्यक्तिको प्रयासबाट नभई समग्र पार्टीको योजना, नीति र सामूहिक पहलबाट सम्भव भएको नेपाली कम्युनिस्ट पार्टी रुकुमका उम्मेदवार गोपाल शर्माले दाबी गरेका छन्। जिल्लाको बाँफिकोट-२ पिपलमा आयोजित जनयुद्ध दिवसको अवसरमा सहिद परिवारलाई सम्मान कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
रुकुममा सडक विस्तार, ग्रामीण पूर्वाधार, शिक्षा र स्वास्थ्य क्षेत्रमा भएका सुधारहरू पार्टीको दीर्घकालीन रणनीति र जनतासँगको सहकार्यको परिणाम भएको शर्माको भनाइ छ। विकासलाई व्यक्तिसँग जोडेर प्रचार गर्नु वास्तविकताभन्दा बाहिर रहेको भन्दै उम्मेदवार शर्माले तत्कालीन माओवादीको नेतृत्वमा भएको बताएका छन्।
केही व्यक्तिहरुले जिल्लाका सबै काम एउटा व्यक्तिले गरेको भन्दै गलत प्रचारप्रसार गरिरहेको भन्दै शर्माले आफु प्रदेश अर्थमन्त्री हुँदा धेरैजसो विकासका कामहरु प्रदेश बाटै भएको बताए।
रुकुम पश्चिममा सञ्चालित धेरै योजनाहरू जनयुद्धपछिको राजनीतिक परिवर्तन र माओवादी नेतृत्वको पहलमा अघि बढाइएका हुन्। स्थानीय तह सुदृढीकरण, पहुँच मार्ग निर्माण, खानेपानी आयोजना र सामाजिक सुरक्षा कार्यक्रमलाई उनीहरूले प्रमुख उपलब्धिका रूपमा उल्लेख गरेका छन्।
विकासलाई दिगो बनाउन सामूहिक नेतृत्व, नीतिगत निरन्तरता र जनसहभागिता आवश्यक रहनेमा जोड दिएका छन्। साथै, आगामी दिनमा पनि पार्टीकै नेतृत्वमा विकासका बाँकी कामहरू अघि बढाइने प्रतिबद्धता व्यक्त गरे ।