रुकुम पश्चिम । आगामी निर्वाचनलाई लक्षित गर्दै नेपाली कम्युनिष्ट पार्टीका केन्द्रिय सदस्य तथा प्रदेश सभा सदस्य महेन्द्र केसी पारसमणीले कर्णाली प्रदेशसहित देशभर आफ्नो पार्टीले बहुमत हासिल गर्ने दाबी गरेका छन्। रुकुम पश्चिमको विभिन्न वडाहरुमा आयोजित जनभेटघाट, अन्तरक्रिया तथा प्रचार कार्यक्रमहरूमा बोल्दै केसीले जनताको समर्थन बढ्दो रहेको बताएका हुन्।
उनका अनुसार कर्णाली प्रदेशका ग्रामीण क्षेत्रदेखि शहरी बस्तीहरूमा समेत संगठन विस्तार, विकास एजेण्डा र स्थिर शासनको नाराले सकारात्मक प्रतिक्रिया पाइरहेको दाबी गरिएको छ। कर्णालीका १० वटै जिल्लाहरुमा जनसमर्थन बलियो भएकाले जनताले नेपाली कम्युनिस्ट पार्टी नेकपा लाई पहिलो दल बनाउने उनले विश्वास व्यक्त गरे ।
आगामी निर्वाचनका लागि प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार गोपाल शर्मा सहितका नेताहरुले विगतको काम, स्थानीय पूर्वाधार विकास र जनसम्पर्क कार्यक्रमलाई मुख्य आधार बनाएर मत मागिरहेका छन्।भने अन्य प्रमुख दलहरूले पनि आफूहरू बलियो अवस्थामा रहेको दाबी गरिरहेका छन्।
निर्वाचनको मिति नजिकिँदै जाँदा देशभर चुनावी गतिविधि तीव्र बन्दै गएको छ भने मतदाताको ध्यान विकास, रोजगारी, सुशासन र पहुँचका मुद्दामा केन्द्रित देखिन्छ। अन्तिम नतिजाले मात्रै कसको दाबी सही ठहरिन्छ भन्ने स्पष्ट पार्नेछ।