पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभावका कारण आज देशका उच्च पहाडी तथा हिमाली भागमा पूर्णतया बादल लाग्ने र बाँकी भेगका पहाडी तथा तराईमा बादल लाग्नेछ । साथै देशका उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा मध्यम हिमपात र वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
गण्डकी प्रदेशका विभिन्न भागमा बिहानै देखि बाक्लो बादल सहित फाट्टफुट्ट वर्षा भइरहेको छ भने आसपासका जिल्लाहरुमा हिमपात परिरहेको खुल्न आएको छ । महाशाखाका अनुसार दिउँसोसम्म गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मध्यम वर्षा तथा बागमती, मधेस र कोशी प्रदेशका पहाडी भागका केही स्थान र कोशी प्रदेशको तराईका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।
त्यसैगरी, आज राति देशका पहाडी र हिमाली भागमा आंशिक बादल लाग्नेछ र बाँकी भागमा मौसम सफा रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एकदुई स्थानमा हल्का हिमपात र वर्षाको सम्भावना छ ।
हिमपात र वर्षाका कारण दैनिक जनजीवन, पर्यटन, स्वास्थ्यका साथै हवाई तथा सडक यातायातमा प्रभाव पर्ने भएकाले सतर्कता अपनाउन महाशाखाले सम्बद्ध सबैमा अनुरोध गरेको छ ।