काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) र प्रगतिशील लोकतान्त्रिक पार्टीबीच आगामी प्रतिनिधिसभा निर्वाचन २०८२ का लागि चुनावी सहमति भएको छ। २०८२ माघ १० गते दुवै पार्टीबीच लिखित सहमति–पत्रमा हस्ताक्षर गर्दै आपसी तालमेल गर्ने सहमति गरिएको हो।
सहमतिअनुसार प्रगतिशील लोकतान्त्रिक पार्टीका पश्चिम रुकुमका उम्मेदवार जनार्दन शर्मा र पूर्वी रुकुमका उम्मेदवार सन्दीप पुनको पक्षमा आँखा चुनाव चिन्हमा एमालेले मतदान गर्नेछ। यस्तै, कर्णाली प्रदेशका हुम्ला र जुम्ला जिल्लामा तथा पुरानो राप्ती अञ्चलका जिल्लाहरूमा एमालेका उम्मेदवारको पक्षमा सूर्य चुनाव चिन्हमा प्रगतिशील लोकतान्त्रिक पार्टीले मतदान गर्ने सहमति भएको छ।
दुवै पार्टीले उक्त सहमति कार्यान्वयन गर्न आ–आफ्नो पार्टीभित्र आन्तरिक निर्देशन तत्काल जारी गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन्।
सहमति–पत्रमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का तर्फबाट उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ र प्रगतिशील लोकतान्त्रिक पार्टीका तर्फबाट अध्यक्ष दुर्गा सोबले हस्ताक्षर गरेका छन्।