जाजरकोट । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय आयोजक समिति सदस्य तथा कर्णाली प्रदेशका पुर्वा मंत्री गणेशप्रसाद सिंहले जाजरकोट जिल्लामा भएको उम्मेदवार चयन प्रक्रियाप्रति असहमति जनाउँदै पार्टी केन्द्रीय कार्यालयमा औपचारिक पत्र मार्फत पार्टी परित्याग गरेका छन्। उनले पार्टीले फेरी पनि पुरानै नेता शक्ति बस्नेतलाई टिकट दिएको भन्दै पार्टी छोडेको घोषणा गरेका हुन्।
सिंहले जाजरकोट जिल्लामाआगामी प्रतिनिधिसभा निर्वाचन २०८२ का लागि उम्मेदवार छनोट गर्दा पार्टीको विधि, विधान र सामूहिक निर्णय प्रक्रियाको उल्लङ्घन भएको आरोप लगाएका छन्। पत्रमा उनले जिल्ला पार्टी बैठकबाट सर्वसम्मत रूपमा सिफारिस गरिएका नामहरूलाई बेवास्ता गर्दै एकल निर्णयका आधारमा उम्मेदवार चयन गरिएको उल्लेख गरेका छन्।
उनका अनुसार जिल्लाबाट शक्ति बस्नेतसहित अन्य नेताहरूको नाम सिफारिस गरिएको भए पनि पछि दबाब, आदेश र व्यक्तिगत प्रभावका आधारमा निर्णय परिवर्तन गरिएको थियो। सिंहले काठमाडौँमा भएको भेटघाट तथा छलफलका क्रममा आफूले उम्मेदवार नबन्ने स्पष्ट धारणा राख्दा पनि त्यसलाई बेवास्ता गरिएको उल्लेख गरेका छन्।
पत्रमा पार्टी अध्यक्षसँग भएको संवाद, टेलिफोन कुराकानी तथा बैठकका निर्णयहरूलाई तोडमोड गरी जबर्जस्ती उम्मेदवार बनाउने प्रयास गरिएको आरोपसमेत लगाइएको छ। यस्तो प्रक्रिया पार्टीको लोकतान्त्रिक अभ्यास, विधान र सामूहिक नेतृत्वको मर्मविपरीत भएको उनको दाबी छ।
सिंहले यस्तो निर्णयले पार्टीभित्र गम्भीर असन्तुष्टि र विभाजनको अवस्था सिर्जना गरेको भन्दै सम्पूर्ण प्रक्रिया सच्याउन केन्द्रीय नेतृत्वको ध्यानाकर्षण गराएका छन्। साथै उनले पार्टीका सबै तहमा आत्मालोचना गर्दै गलत निर्णय सच्याउन आग्रह गरेका छन्। उनले पार्टी हितविपरीत भएका सम्पूर्ण निर्णय, आदेश र प्रतिनिधित्वप्रति आफ्नो घोर आपत्ति र असहमति औपचारिक रूपमा दर्ज गराउँदै उक्त पत्र पेश गरिएको जनाएका छन्।