गत जेठमा उद्घाटन भएको रुकुम पश्चिमको आठबिसकोट नगरपालिका -९ स्थित राडी बजारमा रहेको बसपार्क फेरी पनि प्रयोग बिहिन भएको छ। उद्घाटन भएपछी संचालनमा आएको बसपार्क केही महिनामै सुनसान बन्दै गएको छ।
आठबिसकोटमा यस अघि नर्सरी स्थित २०७९ सालमा उद्घाटन गरिएको बसपार्क लामो समय सम्म सञ्चालनमा आएको थिएन्। त्यसपछि २०८१ मा निर्माण भएको सुविधा सम्पन्न आवास सहितको नयाँ बसपार्कमा केहिदिन फाट्टफुट्ट गाडी आउजाउ गरेपनि फेरी प्रयोग बिहिन हुँदै गएको छ।
सवारी साधनहरु अझैँपनी बजार क्षेत्रको बिच सडक र आठबिसकोट ११ को सिमबजारमा पार्किङ गरिहेका छन्। ४ करोडमा निर्माण भएको सुविधा सम्पन्न बसपार्क सञ्चालनमा आएपछी पार्किङ व्यवस्थित हुने बताईएपनि बसपार्क व्यवस्थित रुपमा चल्न सकेको छैन। ३ हजार स्क्वायर मिटरको आरसीसी बसपार्क , टिकट काउन्टर, आवास,शौचालय, गेट र कम्पाउण्ड वाल सहित बनेको छ। तर गाडीहरु जथाभावी नै पार्किङ्ग गरिरहेको बताईन्छ।
पुरानो बसपार्क अर्थात नर्सरीमा गाडी पार्किङ गर्न असुरक्षित भएको भन्दै यातायात व्यवसायीहरुले उक्त बसपार्कमा पार्किङ गर्न छाडेका थिए । तर अहिले ठाटीखोला नजिकै अर्को सुविधा सम्पन्न काउन्टर र आवास सहितको बसपार्क निर्माण हुँदा पनि यातायात व्यवसायीहरुले अटेरी गर्दै आएका छन्। अहिले वसपार्कमा केटाकेटी खेल्ने र क्रिकेट खेलमैदानमा परिणत भएको स्थानीयको भनाई छ।
वडा नम्वर-९ का वडा अध्यक्ष जनक बहादुर बटालाका अनुसार पार्किङ व्यवस्थितका लागी बनाइएको बसपार्क प्रयोग बिहिन बन्दै गएको बताए। उनले उज्यालोपाटी सँग भने,मैले कार्यपालिकामा बारम्बार कुरा उठाउँदै आएको छु। बसपार्क व्यवस्थित गर्न कार्यविधि पनि बनेको छ। तर कार्यविधि लागू हुनसकेको छैन। वडाले मात्रै गरेर सम्भव छैन। नगरपालिकाको चासो नभएको हो की ? ध्यान नपुगेको हो। मैले बारम्बार प्रश्न उठाउँदा पनि गम्भीर भएको देखिएन।
आठविसकोट नगरपालिका बसपार्क व्यवस्थापन कार्यविधि २०८२ बनेको छ। कुनै पनि स्थानीय तहको कार्यविधि,कानुन स्थानीय राजपत्रमा प्रकाशित भएपछी लागू हुने कानुनी प्रावधान छ। तर उक्त कार्यविधि भने ६ महिना सम्म लागू हुन् सकेको छैन। २०८२/०३/०९ गते कार्यपालिकाले पारित गरेको सो कार्यविधि २०८२/०३/१२ गते प्रमाणीकरण भएको थियो।