रुकुम पश्चिम । नेकपा माओवादी केन्द्र मुसीकोट नगर कमिटीले पार्टी एकतामा सामेल नहुने भन्दै पुष्पकमल दाहाल प्रचण्ड बाट अलग भएको छ। आज एक विज्ञप्ति निकाल्दै सिङ्गो नगर कमिटी नै जनार्दनको अभियानमा लाग्ने बताएको छ।
प्रचण्डले माओवादी विचार र दृष्टिकोण बिर्सजन गरी नाम मात्रको कम्युनिष्टको नाटक मञ्चन गरेकाले एकता प्रक्रियामा नजाने र जनार्दन शर्माको प्रगतिशील राष्ट्रिय अभियानमा समाहित हुने मुसीकोट नगर समितिको पदाधिकारी बैठकले निर्णय गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ । यो नगरपालिका जनार्दन शर्माको गृह नगर हो।
पार्टीका नगर समिति अध्यक्ष दलबहादुर खड्काले एक प्रेस विज्ञप्ति जारी गर्दै प्रचण्डले आफू बस्ने झुपडी आगो लगाएर बहुरङ्गी घरमा सरेको भन्दै त्यसले जनयुद्वको अपमान भएकोले जनार्दन शर्माको प्रगतिशील राष्ट्रिय अभियानमा समाहित भएर भ्रष्टाचारविरूद्व अभियान चलाउने विज्ञप्तिमा उल्लेख गरेका छन् ।
