काठमाडौँ । पूर्वप्रधानन्यायाधीश सुशीला कार्की अन्तरिम सरकारको प्रधानमन्त्री बन्ने निश्चित भएकी छिन्। लामो छलफल र परामर्शपछि जेन–जी समूहको सिफारिसमा कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्री बनाउने निर्णय गरिएको हो।
प्रधानसेनापति अशोकराज सिग्देलले पटक-पटक आन्दोलित जेन–जी समूहका नेताहरूसँग गरेको परामर्श पछि राष्ट्रपति रामचन्द्र पौडेलसँग कार्कीलाई प्रधानमन्त्री नियुक्त गर्नेबारे छलफल गरेका थिए। संविधानका संरक्षकको हैसियतमा, संविधानमा यस्ता प्रावधान नभए पनि विषम परिस्थितिलाई ध्यानमा राख्दै र कानूनविद्हरुको परामर्शपछि राष्ट्रपति पौडेल मुलुकको हितमा कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त गर्न तयार भएका हुन्।
नेपालको संविधानको धारा ६१(४) अन्तर्गत “संविधानको पालना र संरक्षण गर्नु राष्ट्रपतिको प्रमुख कर्तव्य हो” भन्ने उल्लेख छ। त्यसै आधारमा राष्ट्रपति पौडेलले कार्कीलाई प्रधानमन्त्री नियुक्त गर्न लागेको पुष्टि भएको छ।