रुकुम पश्चिम । दुर्गममा पुगेको यातायातको पहुँचलाई हेर्ने हो भने रुकुम जिल्लालाई राष्ट्रिय सडक संजालमा जोड्ने सल्यान-रुकुम-मुसिकोट सडक खण्ड द्वन्द्वकालमै सुरु भएको थियो । बि स २०६० सालमा जिल्ला सदरमुकाम मुसिकोटमा पहिलोपटक गाडी पुग्यो । तत्कालीन शाही नेपाली सेनाद्वारा केन्द्रीय सरकारको बजेट मार्फत खनिएको यो सडक २२ वर्ष पुरानो भयो । तर अहिले सम्म जिल्लाको सदरमुकाममा व्यवस्थित वसपार्क छैन्। राप्ती राजमार्ग, मध्यपहाडी लोकमार्ग अन्तर्गत पर्ने दुई ठुला राजमार्ग यही सदरमुकाम मुसिकोट सँगै जोडिएका छन्। तर यातायातका साधनलाई पार्किङ गर्ने ठाउँ भने छैन्।
रुकुम पश्चिमको सदरमुकाम समेत रहेको मुसिकोटमा बढ्दो सवारी चापका कारण पैदल यात्री र सर्वसाधारणको आवतजावतमा समस्या देखिन थालेको छ अर्कोतिर सडक दुर्घटनाको जोखिम पनि बढ्दै गएको छ । सडक छेउमै पार्किङ गरिएका सवारीसाधनका कारण सडक साँघुरो बन्नु र पैदलयात्रुको बढ्दो चापले दिनहुँ दुर्घटनाको जोखिम निम्त्याएको छ । मुसिकोट नगरपालिकाले पार्किङलाई व्यवस्थित बनाउन नसक्दा पैदल यात्रुलाई समेत सास्ती पर्दै आएको छ । नीजी, सार्वजनिक तथा सानाठुला सवारी साधनको व्यवस्थापनका लागि जिल्ला सदरमुकाममा बसपार्क नहुँदा सडक छेउको पार्किङले बजार क्षेत्र कुरुप बनाउँनुका साथै सर्वसाधारणहरुमा समस्या बढाएको छ ।
बसपार्क नहुँदा जीप तथा वस सञ्चालकहरुले मुसिकोटको पातुखोला , मठ र सल्लेको सडक छेउमा व्यक्तिको जमिनमा भाडा तिरेर पार्किङ गरिरहेको बताउँछन्। स्थानीय सरकारले चासो नदिँदा यातायात व्यवसायीहरु समेत सुरक्षित र व्यवस्थित पार्किङ बाट बञ्चित भएका छन्। आजभन्दा ५ वर्ष पहिले ५२ करोड १२ लाख लागतमा व्यवस्थित भवन सहितको बसपार्क निर्माण गर्ने गरी डीपीआर गरिएको थियो । तर हालसम्म बसपार्क निर्माण भएको छैन्। एक सवारीचालक भन्छन, बसपार्क नहुँदा समस्या भएको छ । सडकको छेउमा खाली रहेको जमिनमा पार्किङ गर्नुपर्छ । त्यहाँ पार्किङ गर्दा न सुरक्षित छ न त निशुल्क तर पनी बाध्यता छ । नगरपालिकाले सल्लेमा पार्किङ गर्न भनेको छ । तर त्यहाँ झन असुरक्षित छ । खुल्ला ठाउँ मात्रै भएर हुँदैन । गाडी पार्किङ गरिएको क्षेत्र कति सुरक्षित छ ? भन्ने कुराले महत्त्व राख्दछ ।
मुसिकोट नगरपालिकाका अनुसार बसपार्क निर्माणको काम भैरहेको बताइएको छ । तर जिल्लामा यातायात सञ्चालनको दुई दशक बितिसक्दा पनी सदरमुकाम जस्तो ठाउँमा एउटा बसपार्क नहुँदा बजार क्षेत्र कुरुप देखिनुका साथै सवारी दुर्घटनाको जोखिम बढाएको छ ।
मुसिकोटको बागबजार, त्रीबेनी चोक, तल्लो बजार, शहिदगेट, पातुखोला र सल्लेमा अधिकांश गाडीहरु सडक छेउमै पार्किङ गरिएको हुन्छ । यातायात समितिहरुले पनि जथाभावी टिकट काउन्टर राख्नाले सवारी साधन व्यवस्थापनमा थप चुनौती थपिएको छ । एकिकृत रुपमा टिकट काउन्टरहरु सञ्चालन गरेमा ट्राफिक व्यवस्थापनमा थप टेवा पुग्ने छ । जिल्लाको पार्किङ समस्यालाई अन्त्य गर्न छिट्टै बसपार्क निर्माणको काम शुरु गरिने आश्वासन दिएपनी हालसम्म बसपार्क निर्माण भएको छैन्।