रौतहट । रौतहटको देवाहीगोनाही नगरपालिकामा मेला उद्घाटन गर्ने विषयलाई लिएर दोहोरो झडप हुँदा नगरप्रमुख प्रेमलाल साह कानुसहित पाँच जना घाइते भएका छन् ।
शनिवार दिउँसो देवाहीगोनाही-९ धरहरीटोलस्थित कृष्ण मन्दिरमा लाग्ने श्रीकृष्ण जन्माष्टमी मेलाको उद्घाटनको विषयलाई लिएर दुई पक्षबीच झडप हुँदा नगरप्रमुख कानुसहित पाँच जना घाइते भएका हुन ।
झडपमा नगरप्रमुख कानु, देवाहीगोनाही-९ का रामविकाश साह, सोहीटोलका श्यामविनय साह, इलाका प्रहरी कार्यालय देवाहीगुनाहीमा कार्यरत प्रहरी वरिष्ठ हबलदारद्धय जगदीशराय यादव र धनसुन्दर ठाकुर घाइते भएका इलाका प्रहरी कार्यालय गरुडाका प्रहरी नायब उपरीक्षक राजन कार्कीले जानकारी दिए । उनका अनुसार घाइते नगरप्रमुखको टाउकोमा १७ वटा टाँका लगाएको छ ।
प्रहरी नायब उपरीक्षक कार्कीले हबलदार यादवको टाउकोमा पाँचवटा र हबलदार ठाकुरको टाउकोमा चार वटा टाँका लगाइएको जानकारी दिए । उनका अनुसार अन्य घाइतेहरूको गरुडास्थित बेटर नेपाल अस्पतालमा उपचार भइरहेको छ ।
उक्त घटनामा संलग्न रहेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा देवाहीगोनाही-९ का अन्दाजी ३५-४० वर्षीय राधामोहन साह, अन्दाजी ३५-४० वर्षीय विनोद साह र अन्दाजी २१-२२ वर्षीय रीतिक साहलाई पक्राउ गरिएको उपरीक्षक कार्कीले उल्लेख गरे ।