रुकुम पश्चिम । जिल्लाको आठबिसकोट नगरपालिका- ४ स्थित चौतारामा नयाँ बिद्यालय भवनको शिलान्यास गरिएको छ । आज मंगलबार नगरपालिकाको गोतामकोटमा रहेको ज्ञानोदय माध्यामिक बिद्यालय को नयाँ भवन निर्माणको लागी शिलान्यास गरिएको हो ।
मंगलबार आठबिसकोट नगरपालिकाका नगर उपप्रमुख धन कुमारी शाहीले बिद्यालय भवनको शिलान्यास गरेकी हुन । डिएन सी इन्फ्रास्ट्रक्चर प्रालीले निर्माण गर्न लागेको उक्त भवन २०८३ असोज २४ गते सम्म सम्पन्न गर्नुपर्ने छ । एडिबी (Asian Development Bank) को ८० प्रतिशत आर्थिक सहयोग , नेपाल सरकारको २० प्रतिशत र आठबिसकोट नगरपालिकाको सहकार्यमा नयाँ बिद्यालय भवन बन्न लागेको बरिष्ठ शिक्षा अधिकृत इन्द्र बहादुर बिष्टले जानकारी दिए। बिष्टका अनुसार भुकम्प पछिको पुननिर्माणको लागि व्यवस्थित र सुरक्षित बिद्यालय निर्माण हुन लागेको जानकारी दिए ।

शिलान्यासमा बोल्दै उपप्रमुख धन कुमारी शाहीले भनिन, शिक्षाले समाज परिवर्तन गर्छ। तर शिक्षा तब मात्र प्रभावकारी हुन्छ, जब विद्यार्थीहरू सुरक्षित, समुचित र प्रेरणादायी वातावरणमा सिक्न पाउँछन्। यही सोचका साथ, यो नयाँ भवन निर्माणको योजना ल्याएका हौँ । भवन निर्माण कार्यमा पारदर्शिता, गुणस्तर र समयको विशेष ख्याल गरिनेछ। म सम्पूर्ण समुदाय, अभिभावक र विद्यालय व्यवस्थापनलाई यो कार्यमा साथ र समर्थनका लागि अनुरोध गर्छु ।
विपद उत्थानशिल बिद्यालय परियोजना अन्तर्गत आठबिसकोट नगरपालिका भित्र ७ वटा बिद्यालय भवन निर्माण हुन लागेका छन्। जस अनुसार जनता मावि झिन्चौर, सुर्योदय मावि होली, ज्ञानोदय मावि चौतारा, बालकल्याण मावि राडी, नेपाल राष्ट्रीय मावि गत्तशैना, जनकल्याण मावि गोइरी र आदर्श मावि ज्यामिरकोटमा एकै साथ नयाँ भवन निर्माण हुने भएका हुन्।
गोतामकोटका बिधालयमा अनुगमन
शिलान्यास संगै आठबिसकोटको वडा नम्वर ४ र ५ मा रहेका चार वटा बिधालयको अनुगमन गरिएको हो । नगर उपप्रमुख धन कुमारी शाही, वडा नम्वर ४ का अध्यक्ष नरसिङ बिष्ट, वडा नम्वर ५ का अध्यक्ष घनश्याम भण्डारी र बरिष्ठ शिक्षा अधिकृत इन्द्र बहादुर बिष्ट सहितको टोलीले आज बिधालयहरुमा अनुगमन गरेको हो ।
गोतामकोटको ज्ञानोदय मावि चौतारा, सरस्वती मावि मिग्री, मष्ट कैलाश आधारभूत बिधालय थापा गाउँ, घामटाकुरी आधारभूत बिधालय टोटाबाज मा रहेका बिधालयमा अनुगमन गरिएको हो । शैक्षिक अवस्था र भौतिक संरचनाको स्थिति बुझ्न अनुगमन गरिएको बताइएको छ ।