रुकुम पश्चिम । रुकुम पश्चिमको आठबिसकोट ११ सिम बजारमा आजदेखि एक घर एक धारा सञ्चालनमा आएका छन्। सबैका लागि दिगो खानेपानी सरसफाइ तथा स्वच्छता (सुस्वा) आयोजना आठबिसकोट वास इकाई द्वारा सञ्चालित सिमबजार खानेपानी आयोजना अन्तर्गत आज मंगलबार खानेपानीको धारा खोलेर उद्घाटन गरिएको हो ।
वास इकाइको तेस्रो सार्वजनिक परिक्षण तथा अनुगमन सँगै खानेपानीको एक घर एक धारा सञ्चालनमा आएका हुन्। आठबिसकोट नगरपालिकाका नगरप्रमुख रवि केसीले एक औपचारिक कार्यक्रमका बिच खानेपानीको धारा खोलेर उद्घाटन गरेका हुन्। कार्यक्रमका प्रमुख अथिति प्रमुख केसीले भने, “सबै नागरिकलाई सुरक्षित खानेपानी पुर्याउने लक्ष्यसहित योजना अगाडि बढाएका छौं। जहाँ पहिलो सफलता सिमबजार बाट भएको छ, । अनुगमन सँगै सुधारको प्रक्रिया अघि बढाइँदैछ।” यसले दिगोपनाको काम गर्छ ।
वर्षौँ देखि खानेपानीको समस्या झेल्दै आएका सिमबजार बासीले अब खानेपानीमा सास्ती भोग्नु नपर्ने केसीले बताए । खानेपानी लाई दिगो बनाउन नगरपालिकाले योजना सम्पन्न गरिसकेपछि जिम्मेवारी उपभोक्ता समितिलाई हस्तान्तरण गर्ने हुंदा त्यसपछि धारा सञ्चालन, मर्मत व्यवस्थापन र मर्मत सम्भार कोष भएकाले आयोजनामा आउने समस्याहरु उपभोक्ताहरुकै जिम्मामा भएकाले त्यसको निगरानी गर्नुपर्ने बताए ।
उक्त आयोजनामा एक घर एक धारा मार्फत ९९ वटा धारा निर्माण भएका छन्। निर्माण सम्पन्न पछि आजदेखि सिमबजारका घरघरका धारामा खानेपानी आएको छ । सो आयोजनामा ९० लाख ८६ हजार २ सय ७रुपैयाँ लागत बमोजिम उपभोक्ता समितिले नगरपालिका सँग सम्झौता गरि सुरु भएको आयोजना काम सम्पन्न भैसक्दा सम्म कामको खुद लागत ७५ लाख ८२ हजार ९ सय ४३ रुपैयाँ मा आयोजना सम्पन्न भएको प्राविधिक सहजकर्ता बिरेन्द्र बटालाले जानकारी दिए। नगरपालिका भित्र एक घर धारा अन्तर्गत ४ सय ३ वटा धारा निर्माण भैसकेको बटालाले बताए ।
धारा उद्घाटन कार्यक्रम तथा तेस्रो सार्वजनिक परिक्षणमा नगरप्रमुख रवि केसी, उपप्रमुख धन कुमारी शाही, बरिष्ठ शिक्षा अधिकृत ईन्द्र बहादुर बिष्ट, वास सल्लाहकार प्रमोदलाल श्रेष्ठ , प्रशासन शाखा प्रमुख सातौं अधिकृत नेत्र नारायण भण्डारी, वास संयोजक नरेन्द्र केसी, प्राविधिक शाखा प्रमुख कमल बिसी , योजना शाखा अधिकृत जंग बहादुर थामी लगायतको उपस्थिति रहेको कार्यक्रमको सामाजिक परिचालक बसन्त चन्दले सञ्चालन गरेका थिए ।