आठबिसकोट । रुकुम पश्चिमको आठबिसकोट स्थित आठबिसकोट बचत तथा ऋण सहकारी बाट रकम लिएर नतिर्नेहरुले न्यायिक समितिको पत्राचार पछि रकम फिर्ता गरेका छन्। गत जेठ २६ गते सहकारीको ऋण फिर्ता गर्न न्यायिक समितिले पत्राचार गरेको थियो ।
सोही पत्र अनुसार कर्जा लिएकाहरुले रकम फिर्ता गरेको न्यायिक समितिले जनाएको छ । समितिका उजुरी प्रशासक रत्न बहादुर परियारका अनुसार पत्र पठाएपछि चार जनाले रकम फिर्ता गरेका हुन्। उनीहरुले करिब ३ लाख रुपैयाँ फिर्ता गरेका हुन्।
सहकारी बाट ऋण लिएर फिर्ता नगर्ने ३६ जनालाई न्यायिक समितिले पत्राचार गरेको थियो । उक्त पत्रपछि चार जनाले रकम फिर्ता गरेको र अन्यले पनि रकम फिर्ता गर्ने क्रम जारी रहेको समितिले जनाएको छ । सबैभन्दा बढी रकम लिने दुई पाईलट र कर्णाली वेभरेजले भने रकम फिर्ता गरेका छैन । उनीहरुबाट मात्रै झन्डै १ करोड ३० लाख रकम सहकारीलाई फिर्ता गर्नुपर्ने छ ।
न्यायिक समितिका संयोजक धन कुमारी शाहीका अनुसार सबैलाई पत्राचार गरेर अन्तिम मौका दिइएको बताईन्। उनले भनिन, अब पनि अटेरी गर्नेहरुलाई कानुन बमोजिम थप कारबाहीका लागि अगाडी बढाईन्छ । पत्राचार पछि रकम फिर्ता गर्न सुरु भएको छ । ठुलो रकम लिएर अटेरी गर्नेहरुलाई कानुनी प्रक्रिया सुरु गर्ने उनको भनाई छ ।
उक्त सहकारीमा नगरपालिकाको डेढ करोड सहित २ करोड बढी रकम हिनामिना भएको छ । बचतकर्ता सहित नगरपालिकाको रकम डुबेपछी अहिले सहकारी बन्द अवस्थामा रहेको छ ।