आठबिसकोट । रुकुम पश्चिमको आठबिसकोट ९ राडी बजारमा रहेको आठबिसकोट बचत तथा ऋण सहकारी संस्थाले समयमै बचतकर्ताको कर्जा फिर्ता गर्न नसक्दा झन्डै दुई करोड रुपैयाँ अपचलन भएको छ । सहकारीको ऋण नतिर्दा बचत फिर्तामा समेत समस्या भएको भन्दै आठबिसकोट नगरपालिकाले सहकारीबाट लिएको ऋण समयमै चुक्ता गर्न आग्रह गरेको छ ।
समितिले पटकपटक सम्पर्क गर्दा अटेरी गरेपछी लिखित पत्राचार गरेर ७ दिनको समय दिइएको न्यायिक समितिका संयोजक तथा आठबिसकोट नगर उपप्रमुख धन कुमारी शाहीले जानकारी दिईन्। शाहीका अनुसार सहकारी संस्थालाई तिर्न बुझाउनुपर्ने ऋण र दायित्व बाँकी भएकाले ७ दिने सूचना सार्वजनिक गरिएको हो । ७ दिनभित्र तिर्नुपर्ने साँवा, ब्याज नबुझाउने सहकारी ,ऋणी, व्यवस्थापक र कर्मचारीलाई कानुनबमोजिम कारबाही गरिने बताईएको छ ।
आठबिसकोट नगरपालिका न्यायिक समितिले एक सूचना जारी गर्दै सहकारीबाट लिएको ऋण सात दिन भित्र चुक्ता गर्न आग्रह गरेको हो । न्यायिक समितिको माघ २१ गते बसेको बैठकले सहकारी बाट ऋण लिएर नतिर्ने ३६ व्यक्ति तथा उधोगलाई पत्राचार गरेर लिएको ऋण वार्षिक १४ प्रतिशत व्याज र जरिवाना सहित बुझाउन उल्लेख गरिएको छ ।
जुन सम्झौता वा सर्तबमोजिम ऋण लिएको हो सोहीबमोजिम ऋणको साँवा र ब्याज सम्बन्धित सहकारी संस्थामा सात दिन भित्र भुक्तान गर्न पत्राचार गरिएको छ । न्यायिक समितिका संयोजक तथा आठबिसकोटका उपप्रमुख धन कुमारी शाहीले भनिन, सहकारी संस्थाको ऋण तिर्नु नपर्ने र सहकारीले सित्तैमा अनुदान दिएको हो की भन्ने जस्ता भ्रामक र गैरजिम्मेवारीपूर्ण अभिव्यक्तिको आधारमा ऋण चुक्ता नगर्ने लाई सहकारी ऐन अन्तर्गत कानुन बमोजिम कारबाही गर्नेछौँ ।
आठबिसकोट सहकारीमा आठबिसकोट नगरपालिकाको एक करोड ७२ लाख र बचतकर्ताको पाँच लाख बढी रकम डुबेको छ । उक्त सहकारीमा समस्या देखिएपछी आठबिसकोट नगरपालिकाले तीन सदस्य सहितको सहकारी छानबीन समिति गठन गरेको थियो । सो समितिको प्रतिवेदन अनुसार नगरपालिकाले थप कारबाहीका लागी न्यायिक समितिलाई जिम्मा दिएको थियो । न्यायिक समितिले सात दिन भित्र कर्जा चुक्ता गर्न ३६ जनालाई पत्राचार गरेको छ ।