भरतपुर, चितवन — चाउरिएका गाला, काँपिरहेका हात तर आँखाभरि असीम खुसीका आँसु। उमेरले जीवनको उत्तरार्ध—९३ वर्ष पुगेकी दिदी र ८८ वर्ष टेकेका भाइ। त्यसमाथि बितेका १० वर्षदेखि निधार र हातहरूबीचको त्यो दूरी। अन्ततः यमपञ्चकको पावन अवसरमा चितवनको भरतपुरमा त्यो १० वर्षे प्रतीक्षा भावुक पुनर्मिलनमा बदलियो।
भरतपुरमा बिहान ११ बजेर ०७ मिनेटको शुभ साइतमा ९३ वर्षीया दिदी बुद्धिसरा चापागाईंले आफ्ना ८८ वर्षीय भाइ मोतीलाल ढकाललाई विधिपूर्वक सप्तरङ्गी टीका र मखमली माला पहिर्याइदिइन्।
परम्पराअनुसार तेलको घेरा हालेर, ओखर फुटाउँदै बुद्धिसराले काँपेका औँलाहरूले भाइको दीर्घायु, सुस्वास्थ्य र आरोग्यको कामना गरिन्। १० वर्षसम्म विविध परिस्थितिका कारण निधार रङ्गाउन नपाएका भाइ मोतीलालले दिदीको हातबाट सप्तरङ्गी टीका थाप्दा उपस्थित परिवार र सन्तानका आँखाहरू समेत रसाएका थिए।
टीका लगाएपछि भावुक बन्दै ९३ वर्षीया बुद्धिसराले भनिन्, “दश वर्षपछि भाइको निधारमा आफ्नै हातले टीका लगाइदिन पाएँ। यो उमेरमा भगवान्ले हाम्रो भेट गराइदिए, मेरो भाइ सधैँ निरोगी र हँसिलो रहोस्, दिदीको आशीर्वाद यही छ।”
उता ८८ वर्षीय भाइ मोतीलालले पनि दिदीको चरण स्पर्श गर्दै यो क्षण आफ्नो जीवनकै सबैभन्दा ठूलो उपहार भएको बताए। “एक दशकपछि दिदीको काखमा बसेर टीका र आशीर्वाद थाप्न पाउँदा बाल्यकाल फर्किएजस्तो महसुस भयो,” उनले खुसी व्यक्त गरे।
बुद्धिसरा र मोतीलालका छोराछोरी, नातिनातिना तथा पनातिहरू समेत सहभागी रहेको उक्त उत्सवले चाडपर्व भनेको केवल औपचारिकता नभई पुस्तान्तर जोड्ने र सम्बन्धलाई सजीव राख्ने माध्यम हो भन्ने सन्देश दिएको छ। उमेर र समयको लामो अन्तराललाई जितेर भरतपुरमा सम्पन्न यो भाइटीकाले सम्पूर्ण परिवारमा मात्र नभई टोलमै आत्मीयता र उमङ्गको तरङ्ग ल्याएको छ।