रुकुम पश्चिममा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले ‘हामी आउँदै छौँ’ अभियान सुरु गरेको छ । स्थानीय तहमा सङ्गठन सुदृढीकरण, अध्ययन तथा अन्तरक्रिया कार्यक्रम, पार्टी सङ्गठन विस्तार, जनताका सुझाव तथा गुनासा सुन्ने, पार्टी र जन सम्बन्ध सुमधुर बनाउने, सरकारले गरेका राम्रा कामको जनस्तरसम्म प्रचार गर्ने लगायतका उद्देश्य सहित अभियानको थालनी गरिएको हो ।
बिहीबार जिल्ला पार्टी कार्यालय मुसिकोटमा केन्द्रीय सदस्य मेनुका शाही, प्रदेश सदस्य शिलु थापा, जिल्ला सभापति द्रोण खड्का लगायतको उपस्थितमा आयोजित जिल्लास्थित पत्रकारहरुसंगको छलफल कार्यक्रम मार्फत अभियानको थालनी भएको घोषणा गरिएको हो ।
उक्त कार्यक्रममा स्थानीय पालिका तथा वडा तहका नेता कार्यकर्ता सँग सङ्गठन, स्थानीय समस्या, जनअपेक्षा तथा आगामी स्थानीय निर्वाचन तयारी बारे छलफल गरिने बताईएको छ ।
अभियान अन्तर्गत शुक्रवार आज जिल्लाको आठबिसकोट नगरपालिकामा कार्यक्रम हुने छ । आठबिसकोटको राडी र गोतामकोट गरी २ ठाउँमा कार्यक्रम हुने छ।
त्यसैगरी असोज २४ गते सानीभेरी गाउँपालिकाको सिम्ली बजारमा, असोज २५ गते चौरजहारी नगरपालिकाको चौरजहारी बजार र खोलागाउँको क्रिकेट रङ्गशालामा, असोज २६ गते बाँफिकोट गाउँपालिकाको पिपल, बाँफिकोट, मग्मा र छिनखेतमा, असोज २७ गते मुसिकोट नगरपालिका वडा नम्बर १ स्थित पार्टी कार्यालयमा र असोज २८ गते त्रिवेणी गाउँपालिकाको नुवाकोटडाँडा, झुलनेटा र सिम्रुतुमा कार्यक्रम गर्ने गरी पार्टीले कार्य तालिका बनाएको छ ।