नेपालको डिजिटल सञ्चार माध्यमउज्यालोपाटी डटकम (ujyalopati.com) ले स्थापनाको २ वर्ष पूरा गरी तेस्रो वर्षमा प्रवेश गरेको छ ।
उज्यालो रिसर्च एण्ड मल्टिमिडिया प्रालि द्वारा सञ्चालित यो न्युज पोर्टल २०८१ सालमा संचालनमा आएको हो।
समाचार केवल सूचना प्रवाह गर्ने माध्यम होइन, यो समाजलाई सही दिशातर्फ डो¥याउने जिम्मेवारी पनि हो। यही जिम्मेवारीबोधका साथ उज्यालोपाटीले आफ्नो स्थापनाको दोस्रो वर्ष पूरा गरी तेस्रो वर्षमा प्रवेश गरेको छ। यो अवसर हाम्रा लागि उत्सवसँगै आत्मसमीक्षा, जिम्मेवारी र आगामी यात्राप्रतिको प्रतिबद्धता दोहोर्याउने महत्वपूर्ण क्षण पनि हो।
पछिल्ला वर्षहरू नेपाली समाज र राजनीतिका लागि सहज रहेनन्। देशको बदलिँदो राजनीतिक अवस्था, सत्ता र राजनीतिक दलप्रतिको जनअपेक्षा, युवापुस्ताको असन्तुष्टि तथा जेनजी आन्दोलन जस्ता घटनाले नेपाली समाजमा नयाँ बहस र प्रश्नहरू जन्माए। त्यस्ता संवेदनशील परिस्थितिमा पत्रकारिताको जिम्मेवारी अझ बढ्छ। भावनाभन्दा तथ्य, आग्रहभन्दा निष्पक्षता र हल्लाभन्दा सत्यलाई प्राथमिकता दिनुपर्ने आवश्यकता झन् प्रस्ट हुन्छ। यही मान्यतालाई आत्मसात् गर्दै उज्यालोपाटीले राजनीतिक तथा सामाजिक घटनाक्रमलाई सकेसम्म तथ्यमा आधारित, सन्तुलित र निष्पक्ष ढंगले पाठकमाझ पुर्याउने प्रयास गर्दै आएको छ। कुनै पक्षको पक्षधर बन्नुभन्दा घटनाको वास्तविकता खोज्ने, सम्बन्धित पक्षको धारणा समेट्ने र पाठकलाई आफ्नै निष्कर्षमा पुग्ने आधार उपलब्ध गराउने हाम्रो मूल पत्रकारिता धर्म हो।
यस अवधिमा मुलुकले प्राकृतिक विपद्का पीडादायी क्षणहरू पनि व्यहोर्नुपर्यो। विशेषगरी रसुवामा आएको बाढी तथा पहिरोजस्ता विपद्का घटनामा जनजीवन, पूर्वाधार र स्थानीय समुदायमा परेको प्रभावलाई उजागर गर्दै उज्यालोपाटीले समाचारलाई प्राथमिकताका साथ सम्प्रेषण गर्यो। विपद्का समयमा समाचारको मूल्य केवल घटना सुनाउनुमा हुँदैन; उद्धार, राहत, क्षतिको अवस्था, प्रभावितको आवाज र सम्बन्धित निकायको भूमिकाबारे सही सूचना प्रवाह गर्नु पनि उत्तिकै महत्वपूर्ण हुन्छ। यस जिम्मेवारीलाई आत्मसात् गर्दै हामीले आफ्नो भूमिका निर्वाह गर्ने प्रयास गर्यौं।
दोस्रो वर्षको यात्रामा प्राप्त अनुभवले हामीलाई एउटा कुरा अझ गहिरोसँग सिकाएको छ। विश्वसनीयता एकै दिनमा निर्माण हुँदैन, निरन्तरको जिम्मेवार पत्रकारिताबाट निर्माण हुन्छ। पाठकको विश्वास हाम्रो सबैभन्दा ठूलो सम्पत्ति हो। त्यसैले समाचारको गति र प्रविधिसँगै त्यसको विश्वसनीयता, शुद्धता र सामाजिक उत्तरदायित्वलाई केन्द्रमा राख्नु हाम्रो प्राथमिकता हुनेछ।
तेस्रो वर्षमा प्रवेश गर्दै गर्दा उज्यालोपाटी अझ जिम्मेवार, खोजमूलक र जनउत्तरदायी पत्रकारितातर्फ अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्दछ। आवाजविहीनहरूको आवाज बन्ने, तथ्यलाई तथ्यकै रूपमा प्रस्तुत गर्ने, गलत सूचना र भ्रमविरुद्ध सत्यको खोजी गर्ने तथा लोकतान्त्रिक समाजमा स्वतन्त्र पत्रकारिताको भूमिकालाई मजबुत बनाउने हाम्रो यात्रा निरन्तर रहनेछ।
यो यात्रामा साथ, सुझाव, आलोचना र विश्वास प्रदान गर्नुहुने सम्पूर्ण पाठक, शुभेच्छुक, विज्ञापनदाता, सहकर्मी पत्रकार, समाचारदाता तथा सम्बन्धित सबैप्रति उज्यालोपाटी परिवार हार्दिक आभार व्यक्त गर्दछ। दोस्रो वर्ष पूरा गरी तेस्रो वर्षमा प्रवेश गरेको यस सुखद अवसरमा हामी फेरि एकपटक प्रतिबद्ध छौं।
समयसँगै अघि बढ्नेछौं, तर सत्य र तथ्यबाट विचलित हुने छैनौं।
सम्पादक