कास्की जिल्ला बुद्धिचाल संघद्वारा आयोजित ‘देशव्यापी खुला र्यापिड चेस प्रतियोगिता–२०८३’ मा अप्रत्याशित र सनसनीपूर्ण प्रदर्शन गर्दै पोखराका उदीयमान चेस प्रतिभा नियोन पौडेलले अन्तर्राष्ट्रिय बुद्धिचाल महासंघ (FIDE) बाट १६९२ को उच्च र्यापिड रेटिङसहित आधिकारिक फिडे आइडी (१२३८४६०७) आफ्नो नाममा पारेका छन्। पोखरा–७, मासबारस्थित मदरल्याण्ड सेकेन्डरी स्कुलमा कक्षा ९ मा अध्ययनरत पौडेल मदरल्याण्ड चेस क्लबका सचिव तथा पोखरास्थित प्रतिष्ठित क्रिएटिभ चेस क्लबका साधारण सदस्य समेत हुन्। प्रतियोगितामा उत्कृष्ट खेल कौशल देखाउँदै सबै अन्तर्राष्ट्रिय मापदण्ड (Norms) पूरा गरेपछि उनले १ अक्टोबर २०२६ मा फिडेबाट उक्त आधिकारिक मान्यता प्राप्त गरेका हुन्।
नेपाल तथा विशेषगरी गण्डकी प्रदेशको बुद्धिचाल इतिहासमै यति छोटो समयमा १६९२ जस्तो बलियो अन्तर्राष्ट्रिय र्यापिड रेटिङ दर्ज गर्नु आफैँमा एउटा दुर्लभ, ऐतिहासिक र गौरवमय रेकर्ड मानिएको छ।
औपचारिक रूपमा बुद्धिचाल खेलको दुनियाँमा पाइला टेकेको केवल एक वर्षको छोटो अवधिमै नियोनले निकालेको यो नतिजा चकित पार्ने खालको छ। यसअघि नै उनले स्थानीय वडास्तरीय प्रतियोगिताहरू तथा प्याब्सनद्वारा आयोजित विभिन्न चेस प्रतियोगिताहरूमा उत्कृष्ट प्रदर्शन गर्दै थुप्रै पदक तथा उपाधिहरू आफ्नो पोल्टामा पारिसकेका छन्। त्यसैगरी करिब ७ महिनाअघि राजधानी काठमाडौंमा सम्पन्न भएको ‘अन्तर्राष्ट्रिय जुनियर चेस च्याम्पियनसिप’ मा समेत उनले सशक्त सहभागिता जनाएका थिए।
नियोनको यस अद्भूत र चामत्कारिक यात्राबारे चर्चा गर्दै गण्डकी प्रदेश तथा राष्ट्रिय स्तरमै सुपरिचित चेस व्यक्तित्व एवं उनका प्रशिक्षक परिवेश थापाले भने, “औपचारिक रूपमा चेस तालिम सुरु गरेको जम्मा एक वर्षमै सबै नर्महरू सफलतापूर्वक पूरा गरी १६९२ जस्तो बलियो रेटिङ बनाउनु भनेको साँच्चिकै बबाल र अद्वितीय उपलब्धि हो। उसको तीव्र सिकाइ क्षमता, बोर्डमा देखाउने धैर्यता र खेलप्रतिको भोकले गर्दा नै यो सम्भव भएको हो।”
यस ऐतिहासिक सफलतापछि मदरल्याण्ड सेकेन्डरी स्कुल परिवार तथा मदरल्याण्ड चेस क्लबले उनलाई हार्दिक बधाई दिँदै भविष्यमा अन्तर्राष्ट्रिय च्याम्पियन बन्ने दृढ यात्राका लागि शुभकामना व्यक्त गरेका छन्। साथै, खेलकुदको क्षेत्रमा विद्यालयको नाम राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चमा चिनाउन सफल भएको भन्दै मदरल्याण्ड सेकेन्डरी स्कुलले आफ्नो आगामी भव्य वार्षिक उत्सवमा उनलाई विशेष सम्मान गर्ने घोषणा समेत गरेको छ।