एउटा अन्तिम प्रश्न ‘Reaping Day.’ मा सोधिएको थियो। प्रश्न सोध्ने व्यक्तिलाई घिसारेर लगिँदै गर्दा सम्पूर्ण पानम मौन भएर हेरिरहेको थिए , र त्यो प्रश्न हावामा असहज र खतरनाक रूपमा झुन्डिरहेको थियो। “हामी यसलाई किन स्वीकार गर्छौं?” तर प्रश्नहरू, विद्रोहजस्तै, परिणामविहीन हुँदैनन्।
केही मिनेटपछि नामहरू छानिए, बालबालिकाहरू लगिए, र भीड फेरि मौन रह्यो। हरेक वर्ष प्रणालीले आफ्नो पकड अझ कडा बनाउँदै गयो। किनकि त्यो न्यायपूर्ण थियो भनेर होइन, तर अब कसैले त्यसलाई प्रश्न गर्ने साहस गर्दैनथ्यो। जब कुनै समाजमा न्यायको खोजीलाई डरले प्रतिस्थापन गर्छ, तब सबैभन्दा क्रूर प्रणाली पनि सामान्यजस्तो महसुस हुन थाल्छ। यो लोकप्रिय ‘हङ्गर गेम्स’ शृङ्खलाको एउटा उदाहरण हो जसले देखाउँछ कि प्रश्न उठाउन छोडिएको समाज कसरी आफूमाथिको दमनप्रति असंवेदनशील बन्छ। यो क्षण काल्पनिक लागे पनि असहज रूपमा परिचित महसुस हुन्छ। यसले देखाउँछ कि जब प्रश्न गर्न छोडिन्छ, मानिसहरू अन्यायसँग कति सजिलै अभ्यस्त बन्छन्। जब जिज्ञासाको ठाउँ डरले लिन्छ र मौनता सुरु हुन्छ, तब क्रूरता पनि सामान्य लाग्न थाल्छ। र यही असहज सत्य हो: यदि मानिसहरूले कठिन प्रश्नहरू सोध्न छोडे भने, उनीहरूले केवल प्रणालीलाई स्वीकार मात्र गर्दैनन्, चुपचाप त्यसलाई अझ खराब बन्न पनि दिन्छन्।
लोकतन्त्रलाई प्रायः निर्वाचन, प्रतिनिधित्व र अधिकारको प्रणालीका रूपमा प्रशंसा गरिन्छ। तर यसको दीर्घायु केवल संस्थाहरूमा होइन, नागरिकहरूको बानीमा निर्भर हुन्छ। ती बानीहरूमध्ये सबैभन्दा महत्त्वपूर्ण हो। प्रणालीलाई प्रश्न गर्ने इच्छ जब नागरिकहरूले सत्तालाई प्रश्न गर्छन्, प्रमाण माग्छन् र नेताहरूलाई चुनौती दिन्छन्, तब उनीहरूले उत्तरदायित्व र पारदर्शितालाई मजबुत बनाउँछन्। सबैभन्दा आधारभूत स्तरमा, प्रश्न गर्ने प्रवृत्ति र उत्तरदायित्वबीच सीधा सम्बन्ध हुन्छ। उदाहरणका लागि, ट्रान्सपरेन्सी इन्टरनेशनलको भ्रष्टाचार धारणा सूचकांक (२०२५) अनुसार डेनमार्क र नर्वेजस्ता देशहरू, जो संसारकै कम भ्रष्ट राष्ट्रहरूमा गनिन्छन्, त्यहाँ सक्रिय र प्रश्न गर्ने नागरिक समाज छ जसले शासनको प्रत्येक तहमा पारदर्शिता माग गर्छ।
प्रश्न गर्ने र उत्तरदायित्व बीचको सम्बन्ध केवल सैद्धान्तिक मात्र होइन, व्यवहारमा पनि देखिन्छ। ‘भ्वाइस एन्ड एकाउन्टेबिलिटी’ मा उच्च अंक प्राप्त गर्ने देशहरूले सेवा गुणस्तर, कानुनी शासन र भ्रष्टाचार नियन्त्रणमा पनि राम्रो प्रदर्शन गर्छन्। ब्रेट स्टिफेन्स र योरदानोस आइजसँगको TED Talk मा ब्रेटले भनेका छन्, “लोकतन्त्र कुनै यस्तो यान्त्रिक प्रणाली होइन जुन मानिसहरूको ऊर्जा, विचार र सुधार तथा अनुकूलनको इच्छाविना आफैँ चमत्कारिक रूपमा चलिरहन्छ।” यसले हामीलाई एउटा सरल तर शक्तिशाली विचार दिन्छ: लोकतन्त्र आफैँ टिकिरहँदैन।
तर लोकतन्त्रमा प्रश्न गर्ने कुरा केवल राजनीतिक प्रणालीमा सीमित हुँदैन। आर्थिक नीतिहरूले समाजमा सम्पत्तिको वितरण निर्धारण गर्छन्। जब नागरिकहरूले यी नीतिहरूलाई आलोचनात्मक रूपमा हेर्छन्, तब आर्थिक वृद्धि समावेशी बन्छ र शोषणको माध्यम बन्दैन। उदाहरणका लागि, न्यूनतम ज्याला र सम्पत्ति असमानताबारे भएका बहसहरूले धेरै देशहरूमा ठोस सुधार ल्याएका छन्। वर्ल्ड इनइक्वालिटी रिपोर्ट (२०२६) अनुसार विश्वव्यापी असमानता अझै उच्च छ। विश्वको शीर्ष १० प्रतिशत जनसंख्याले ७५ प्रतिशत सम्पत्ति नियन्त्रण गर्छ र आधाभन्दा बढी आम्दानी कब्जा गर्छ। यो असमानता ठूलो हदसम्म प्रणालीमाथि पर्याप्त चुनौती नदिइनुका कारण कायम छ। जब नागरिकहरूले शक्तिको दुरुपयोगविरुद्ध बहस गर्छन्, नीतिहरू समाजको हित तर्फ केन्द्रित हुन थाल्छन्।
इतिहासले मौनताको परिणामका धेरै उदाहरणहरू दिएको छ। तानाशाही र दमनकारी शासन एकै रातमा जन्मिँदैनन्; ती बिस्तारै विकास हुन्छन्, मौन नागरिकहरूको साथ र स्थिरताको भ्रमभित्र। अधिकांश अवस्थामा प्रारम्भिक चेतावनीहरूलाई चुनौती दिइँदैन। जबसम्म नागरिकहरूले समस्याको गहिराइ बुझ्छन्, तबसम्म उनीहरू प्रणालीसँग यति अभ्यस्त भइसकेका हुन्छन् कि त्यसविरुद्ध उभिन कठिन हुन्छ। प्रश्न गर्ने कार्य प्रतिक्रियात्मकभन्दा सक्रिय हुँदा बढी प्रभावकारी हुन्छ। लोकतन्त्रमा प्रश्न गर्ने कार्य सक्रिय हुनु आवश्यक छ, किनकि यसले समस्या ठूलो हुनुअघि नै सत्ता र संस्थालाई जवाफदेही बनाउँछ।
१९६१ मा गरिएको एक विवादास्पद अध्ययनमा, येल विश्वविद्यालयका मनोवैज्ञानिक स्ट्यान्ली मिल्ग्रामले मानिसहरू अधिकार प्राप्त व्यक्तिको आदेशमा कति टाढासम्म जान सक्छन् भनेर परीक्षण गरेका थिए। करिब ६० प्रतिशत सहभागीहरूले अर्को व्यक्तिलाई अत्यन्त उच्च भोल्टेजको झट्का दिएका थिए र उनीहरूले साँच्चिकै पीडा दिइरहेका छन् भन्ने विश्वास गरेका थिए (यद्यपि ती झट्काहरू वास्तविक थिएनन्)। यसले देखाउँछ कि जब अधिकारको प्रभाव हुन्छ र मानिसहरूले त्यसलाई प्रश्न गर्न छोड्छन्, तब नागरिकहरू आफ्नै नैतिकताविरुद्धका खतरनाक कार्य गर्न पनि तयार हुन सक्छन्। यो अध्ययनले संकेत गर्छ कि यदि नागरिकहरूले अधिकारलाई सक्रिय रूपमा प्रश्न गरेनन् भने, उनीहरूले केवल सत्तामा भएकाहरूले समर्थन गरेका कारण हानिकारक नीतिहरू वा कार्यहरू स्वीकार गर्न सक्छन्।
यसले फेरि ‘हङ्गर गेम्स’ को रूपकमा फर्काउँछ। पानमका नागरिकहरूको मौनता केवल डरको परिणाम थिएन, त्यो सामान्यीकरणको परिणाम थियो। समयसँगै अन्याय दैनिक जीवनमा मिसिन थाल्छ। यही सामान्यीकरण नै लोकतन्त्र र तानाशाहीबीचको पातलो सीमालाई पार गराउने सबैभन्दा ठूलो खतरा हो।
यो पनि विचार गर्न लायक छ कि जिम्मेवार ढंगले गरिने प्रश्नले विभाजन होइन, एकताको आधार पनि बनाउन सक्छ। सुरुमा यसले असहजता ल्याए पनि अन्ततः यसले राम्रो निर्णय र सकारात्मक परिणाम दिन्छ। खुला संवादले फरक दृष्टिकोणहरूलाई स्थान दिन्छ र समाजको प्रगतिमा साझा स्वामित्वको भावना विकास गर्छ। यसको विपरीत, जबरजस्ती थोपरिएको मौनताले एकताको भ्रम त सिर्जना गर्न सक्छ, तर त्यो कमजोर र दीर्घकालीन रूपमा अस्थिर हुन्छ।
फिलिपिन्सका राजनीतिज्ञ Oscar Moreno ले भनेका छन्, “स्वस्थ लोकतन्त्रमा प्रश्न सोध्नु खतरा होइन — जिम्मेवारी हो। जिज्ञासु, सक्रिय र मुखर नागरिकहरू सार्वजनिक सेवाका शत्रु होइनन्। उनीहरू नै यसको आधार हुन्।”
जब मानिसहरूले ध्यान दिन्छन्, उत्तरदायित्व बढ्छ। जब नागरिकहरू बोल्न पर्याप्त चासो राख्छन्, प्रगति सुरु हुन्छ। सार्वजनिक सेवकहरूले आलोचनासँग डराउनु हुँदैन। त्यसलाई परिवर्तन सम्भव छ भन्ने विश्वासको संकेतका रूपमा स्वागत गर्नुपर्छ। किनकि जब नागरिकहरूले प्रश्न सोध्छन्, त्यसको अर्थ उनीहरूले आशा त्यागेका छैनन्। र यहींबाट वास्तविक सुशासन सुरु हुन्छ।
लोकतन्त्र यस्तो प्रणाली होइन जुन एकपटक प्राप्त भएपछि आफैँ चलिरहन्छ। यसलाई सहभागिता चाहिन्छ। यसलाई ध्यान चाहिन्छ। सबैभन्दा महत्त्वपूर्ण, यसलाई त्यस्ता मानिसहरू चाहिन्छ जो असहज हुन तयार छन् — सजिलो विकल्प मौन बस्नु भए पनि प्रश्न सोध्न तयार हुने। ‘रिपिङ डे’ को त्यो प्रश्न केवल कथाको संवाद होइन। त्यो हरेक समाजले कुनै न कुनै समय सामना गर्नुपर्ने प्रश्न हो। र यसको उत्तर हामीमाथि निर्भर छ। कुनै प्रणाली न्यायपूर्ण बन्छ कि दमनकारी — त्यो केवल सत्तामा भएकाहरूले तय गर्दैनन्, त्यो मानिसहरू प्रश्न गर्न तयार छन् कि छैनन् भन्ने कुराले निर्धारण गर्छ।
यदि मानिसहरू प्रश्न गर्न तयार भएनन् भने, उत्तरदायित्व हुनुपर्ने ठाउँ मौनताले भरिन्छ। र इतिहासले बारम्बार देखाइसकेको छ। सबैभन्दा खतरनाक प्रणालीहरू मौनतामै हुर्किन सुरु गर्छन्।