काठमाडौँ । विभिन्न सामाजिक सञ्जाल तथा अनौपचारिक माध्यमहरूमा उज्यालो नेपाल पार्टी र अन्य राजनीतिक दलहरू विशेषगरी नेपाली कम्युनिस्ट पार्टी लगायतसँग एकीकरण हुन लागेको भन्ने समाचारप्रति कुलमान घिसिङ्गले आपत्ति जनाएका छन्। उक्त खबर प्रति कोही पनि भ्रममा नपर्न भन्दै
पार्टीले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
पार्टी अध्यक्ष कुलमानले एक सामाजिक संजालमा पोष्ट गर्दै यस्ता प्रचारहरू पूर्ण रूपमा भ्रामक, निराधार र असत्य भएको स्पष्ट पारेका छन्। उनले उज्यालो नेपाल पार्टी कुनै पनि राजनीतिक दलसँग एकीकरण गर्ने कुनै निर्णयमा नरहेको उल्लेख गर्दै पार्टी आफ्नै नीति, सिद्धान्त र कार्यक्रमका आधारमा स्वतन्त्र रूपमा अघि बढिरहेको बताए।
अध्यक्ष घिसिङ्गका अनुसार पार्टीले जनताको पक्षमा आधारित वैकल्पिक राजनीतिक धार निर्माण गर्ने लक्ष्यका साथ आफ्नै मार्ग तय गरेको र भविष्यमा पनि सोही दिशामा अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेको छ।
यसैबीच, अध्यक्षले आम नागरिक, समर्थक तथा शुभेच्छुकहरूलाई यस्ता हल्ला र भ्रम फैलाउने समाचारमा विश्वास नगर्न आग्रह गरेका छन्। पार्टीसम्बन्धी आधिकारिक सूचना केवल पार्टीका आधिकारिक माध्यमबाट मात्र प्राप्त हुने स्पष्ट गरिएको छ।