काठमाडौँ । सरकारले बन्द गरेका २६ वटा सामाजिक सञ्जाल मध्ये आठ वटा सामाजिक सञ्जाल सरकारको सम्पर्कमा आएका छन् ।
शुक्रबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको निर्देशनमा नेपाल दूरसञ्चार प्राधिकरणले बन्द गर्नका लागि इन्टरनेट सेवा प्रदायकलाई पत्र लेखेकोमा नेपालका लागि केन्द्रित गरेर सञ्चालन गरेको हाम्रो पात्रोले बिहीबार नै दर्ता प्रक्रिया गरेको छ ।
मेटाले समेत अनौपचारिक रूपमा सम्पर्कमा आएर सूचीकरणका लागि आवश्यक कागजातबारे बुझेको सञ्चार मन्त्रालयले जनाएको छ ।
मेटा फेसबुक, म्यासेन्जर, इन्स्टाग्राम, ह्वाट्सएप र थ्रेड्सको सञ्चालक कम्पनी हो । त्यस्तै, शुक्रबार ट्वीटर (एक्स) ले पनि सरकारसँग आधिकारिक रूपमै सम्पर्कमा आएको मन्त्रालयमा प्रवक्ता गजेन्द्र ठाकुरले जानकारी दिए ।
शुक्रबार नै चिनियाँ सामाजिक सञ्जाल कम्पनी वी च्याटले समेत सरकारसँग सम्पर्कमा आएर सूचीकरणको प्रक्रियाबारे जानकारी मागेको मन्त्रालयले जनाएको छ ।