आठबिसकोट । सहकारी बाट कर्जा लिएर नतिरेपछि सहकारी बन्द भएको छ । आठबिसकोट नगरपालिकाको रोहवरमा आठबिसकोट बचत तथा ऋण सहकारी संस्थामार्फत आठबिसकोट-५ का ललित भण्डारी र १० वडाका गोविन्द केसीले पाइलट अध्ययनका लागि २०७५ सालमा ५०/५० लाख ऋण लिए । पाँच वर्ष वितिसक्दा पनी उक्त रकम फिर्ता नगर्दा अहिले सहकारी समस्याग्रस्त बनेको छ । उनीहरु सहित ३६ जनाले सहकारीको रकम नतिर्दा बचतकर्ता र आठबिसकोट नगरपालिकाको करिब २ करोड रुपैयाँ डुबेको छ ।
उनीहरुले फिलिपिन्सको रोयल फ्लाइट ट्रेनिङ एकेडेमीबाट पाइलट कोर्स सकाएर पनि जागिर सुरु गरिसके तर नगरपालिकाले उनीहरूलाई दिएको ५०/५० लाख रुपैयाँ भने फिर्ता गरेनन्। २०७५ साल साउन २३ गते नगरपालिकाले शैक्षिक ऋण प्रदान सम्बन्धि कार्यविधि २०७५ बनाएर सहकारी मार्फत दुबैजनालाई ऋण दिएको थियो । कार्यविधि अनुसार कोर्ष पढेर जागिरमा जोडिएपछि ऋण तिर्ने किस्ता सुरु हुन्छ । तर उनीहरुले जागिर सुरु गरेको झण्डै एक वर्ष हुनैलाग्दा व्याज समेत संस्थालाई नबुझाएको बताईएको छ । 
नगरपालिकाले कार्यविधि नै बनाएर अध्ययनका लागि उनीहरुलाई ऋण तथा आर्थिक सहयोग गर्ने कार्यक्रम ल्यायो र नगरपालिकाकै रोहवरमा संस्थाबाट ऋण लिएर जागिर सुरु भएपछि ६ प्रतिशत ब्याज लाग्ने कार्यविधि बनाईयो । अहिले न त ऋण चुक्ता गरे न त कार्यविधि मा उल्लेख भए अनुसार नगरपालिकाले तिनिहरुलाई कारबाही नै गर्यो । यता उक्त रकम चुक्ता नगर्दा सहकारी बन्द अवस्थामा पुगेको र बचतकर्ताको बचत रकम पनि फिर्ता गर्न नसकिएको सहकारी का अध्यक्ष हरि प्रसाद शर्मा बताउँछन्।
आर्थिक रुपले विपन्न, सिमान्तकृत तथा लक्षित वर्गका विध्यार्थी लाई उच्च शिक्षा हासिल गर्नका लागी नगरपालिकाले कार्यविधि निर्माण गरेको थियो । इन्जिनियर, चिकित्साशास्त्र र पाइलट अध्ययनका लागि ५० लाख सम्म विना व्याज ऋण उपलब्ध गराउँदै आएको छ ।
यस अघि प्रकाशित तस्वीर सम्बन्धित व्यक्तिको अनुरोधमा हटाईएको छ – सम्पादक