आफूलाई ‘सञ्चारको सई’ बताउँदै छोरा हराएको जानकारी गराउन फोन गरेका सहकर्मीलाई गालीगलौज गर्ने जिल्ला प्रहरी कार्यालय गौरमा कार्यरत प्रहरी हवल्दार बुधन महतोमाथि निलम्बन प्रक्रिया अघि बढाइएको छ। घटनासम्बन्धी अडियो सार्वजनिक भएपछि चौतर्फी आलोचना बढेसँगै रौतहट प्रहरीले उनीमाथि कारबाही प्रक्रिया सुरु गरेको हो।
मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामले घटनाको सत्यतथ्य छानबिन गर्न निर्देशन दिएलगत्तै जिल्ला प्रहरी कार्यालय रौतहटले हवल्दार महतो र पीडित प्रहरी हवल्दार सुरेश यादव दुवैलाई थप अनुसन्धानका लागि जनकपुर पठाएको छ।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख प्रहरी उपरीक्षक सिताराम रिजालले घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिएका छन्। उनका अनुसार सार्वजनिक अडियोमा दुवै पक्षको गल्ती देखिएको छ। तर, हवल्दार महतोले आफूलाई प्रहरी सहायक निरीक्षक (सई) बताउँदै सहकर्मीमाथि गरेको गालीगलौजका विषयमा छुट्टै अनुसन्धान गरिनेछ।
प्रहरी प्रमुख रिजालले पीडित हवल्दार यादवले पनि घटनाबारे पहिले कार्यालय प्रमुखलाई जानकारी नगराई अडियो सामाजिक सञ्जालमा सार्वजनिक गरेको विषय उठाएका छन्। कार्यालय प्रमुखलाई जानकारी गराउनुपर्ने विषय सिधै सामाजिक सञ्जालमा पुर्याइएको उनको भनाइ छ।
घटनाको पृष्ठभूमिमा हवल्दार यादवका १७ वर्षीय छोरा चन्दनकुमार यादव बेपत्ता भएको विषय रहेको छ। नेपाल प्रहरीको जनकपुर गणबाट थप मद्दतका लागि रौतहटको चन्द्रपुर नगरपालिका–९ स्थित डुमरिया सुरक्षा बेसमा खटिएका यादवका छोरा दुई दिनअघि सदरमुकाम गौरस्थित घरबाट सम्पर्कविहीन भएका थिए। एसईई परीक्षा सकेर अध्ययनका लागि काठमाडौंमा बस्दै आएका चन्दन छठ पर्व मनाउन घर आएका बेला अचानक हराएका हुन्।
छोराको खोजी तथा उद्धारका लागि सहयोग माग्न यादवले शुक्रबार जिल्ला प्रहरी कार्यालयको कन्ट्रोल रुममा सम्पर्क गरेका थिए। त्यहाँबाट सञ्चार शाखामा जानकारी गराउन भनिएपछि उनले उक्त शाखामा फोन गरेका थिए।
सार्वजनिक अडियोमा यादवले फोन उठाउने व्यक्तिसँग ‘को बोल्नुभयो सर, हवल्दारसाहेब कि असइसाहेब?’ भन्दै परिचय सोधेको सुनिन्छ। त्यसपछि आफूलाई सई बताउने महतोले ‘जय नेपाल’ नभनेको र बोल्ने शैली नमिलेको भन्दै यादवलाई झपारेका थिए। महतोले आफ्नो दर्जा बताउन नमिल्ने आशय व्यक्त गर्दै अपमानजनक शब्द प्रयोग गरी गालीगलौज गरेको पनि अडियोमा सुनिन्छ।
छोरा बेपत्ता भएको संवेदनशील अवस्थामा खोजी तथा उद्धारका लागि सहयोग माग्न फोन गरेका प्रहरी कर्मचारीमाथि आफ्नै सहकर्मीबाट दुर्व्यवहार भएको घटना सार्वजनिक भएपछि रौतहट प्रहरीको आलोचना भएको थियो।
यस विषयमा मधेस प्रदेश प्रहरी कार्यालयका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी वरिष्ठ उपरीक्षक प्रभुप्रसाद ढकालले विज्ञप्ति जारी गर्दै सञ्चार शाखा र डुमरिया सुरक्षा बेसमा कार्यरत प्रहरी कर्मचारीबीच भएको संवादमा प्रयोग गरिएको भाषा, शब्द र शैलीप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्।
प्रदेश प्रहरी कार्यालयले घटनाको वास्तविकता पत्ता लगाई दोषी देखिएका प्रहरी कर्मचारीमाथि प्रहरी नियमावलीअनुसार आवश्यक कारबाही गर्न निर्देशन दिएको छ। सोही निर्देशनपछि रौतहट प्रहरीले हवल्दार महतोमाथि निलम्बन प्रक्रिया अघि बढाएको हो।