पोखरा । पोखराको मसबारस्थित मदरल्याण्ड सेकेन्डरी स्कूलमा कक्षा ८ मा अध्ययनरत १३ वर्षीया प्रतिभावान खेलाडी आयुष्णा राजवंशी १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत गण्डकी प्रदेशस्तरीय छनोट प्रतियोगिताका लागि कास्की जिल्लाबाट छनोट भएकी छन्।
यही कात्तिक १९ र २० गते पोखरा रङ्गशालामा सम्पन्न कास्की जिल्लास्तरीय बुद्धिचाल (चेस) छनोट प्रतियोगितामा मदरल्याण्डकी आयुष्णाले उत्कृष्ट खेल प्रदर्शन गर्दै खुला (Open) विधातर्फ प्रदेश छनोटमा आफ्नो स्थान सुरक्षित गरेकी हुन्। यति सानो उमेरमै खुला विधामा सिनियर खेलाडीहरूसँग कडा प्रतिस्पर्धा गर्दै विद्यालय र जिल्लाकै गौरव बढाउन सफल हुनुलाई कास्कीको चेस वृत्तमा निकै महत्त्वपूर्ण र दुर्लभ उपलब्धिका रूपमा हेरिएको छ।
मदरल्याण्ड चेस क्लबका अध्यक्ष तथा आयुष्णाका व्यक्तिगत प्रशिक्षक परिवेश थापाका अनुसार आयुष्णाले चेस खेल्न सुरु गरेको जम्मा चार महिना मात्र भएको छ। “आयुष्णाको यो औपचारिक रूपमा तेस्रो प्रतियोगितात्मक सहभागिता मात्र हो,” प्रशिक्षक थापाले बताए, “चेस बोर्ड समातेको छोटो समयमै उनले अद्भुत क्षमता देखाएकी छन्। यसअघि उनले पोखरा महानगरपालिका वडा नं. ७ को वडाध्यक्ष कपमा प्रथम स्थान हासिल गरेकी थिइन् भने प्रतिष्ठित पोखरा ओपनमा पनि उत्कृष्ट प्रदर्शन दर्ता गरेकी थिइन्। मदरल्याण्ड चेस क्लबमा उनको कडा अनुशासन, सिक्ने तीव्र चाहना र निरन्तर अभ्यासकै कारण आज उनी खुला विधाबाटै प्रदेश छनोट प्रतियोगिताको ढोका खोल्न सफल भएकी हुन्।”
आयुष्णाको यस सफलताप्रति मदरल्याण्ड सेकेन्डरी स्कूल परिवारले हार्दिक बधाई ज्ञापन गर्दै आगामी प्रदेश छनोट खेलका लागि शुभकामना व्यक्त गरेको छ। विद्यालय प्रशासनले विद्यार्थीहरूको बौद्धिक विकास र व्यक्तित्व निर्माणमा बुद्धिचालजस्ता खेलको ठूलो योगदान रहने उल्लेख गर्दै आगामी प्रदेशस्तरीय छनोट प्रतियोगितामा मदरल्याण्डकी छात्रा आयुष्णाको थप उत्कृष्ट प्रदर्शनका लागि विद्यालय परिवार सदैव साथमा रहने जनाएको छ।
१०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी मङ्सिरमा कर्णाली प्रदेशमा आयोजना हुँदैछ। सोही प्रतियोगिताको तयारीस्वरूप आयोजना हुने गण्डकी प्रदेशस्तरीय छनोट खेलमा आयुष्णाले मदरल्याण्ड स्कूल र कास्की जिल्लाको प्रतिनिधित्व गर्दै प्रतिस्पर्धा गर्नेछिन्, जहाँ उत्कृष्ट नतिजा हासिल गरेमा उनले १०औँ राष्ट्रिय खेलकुदका लागि गण्डकी प्रदेशको टोलीमा स्थान बनाउनेछिन्।