अस्ट्रेलियाको सिड्नीमा बसोबास गर्दै आएकी गीतकार यशोदा सापकोटा कार्कीको पहिलो तीज गीत ‘ए मैना सुनन’ सार्वजनिक भएको छ । नेपाली संस्कृति, परम्परा र आमा-छोरीबीचको आत्मीय सम्बन्धलाई विषयवस्तु बनाइएको यो गीत आउँदै गरेको तीज पर्वलाई लक्षित गरी बजारमा ल्याइएको हो ।
विगत १२ वर्षदेखि सिड्नीको एक पब्लिक हस्पिटलमा रजिस्टर्ड नर्सका रूपमा कार्यरत कार्की व्यवसायीसमेत हुन् । प्रवासको व्यस्त जीवनका बाबजुद नेपाली भाषा, संस्कृति र परम्पराप्रतिको लगावलाई सङ्गीतमार्फत जीवन्त राख्न उनले पहिलोपटक तीज गीत सिर्जना गरेकी हुन् ।
‘ए मैना सुनन’ बोलको गीतमा गायिका निशा कँडेलको स्वर, यशोदा सापकोटा कार्कीको शब्द र टीका दाहालको सङ्गीत छ । गीतलाई अल्मोडा राना उप्रेतीले एरेन्ज गरेका हुन् भने मिक्सिङ तथा मास्टरिङ रङ्गीत बल्लभ उप्रेतीले गरेका छन् ।
गम्भीर बिष्टको निर्देशनमा तयार भएको भिडियोमा मोडल बिना राउतको शीर्ष अभिनय देख्न सकिन्छ । पुनम श्रेष्ठको कोरियोग्राफी रहेको भिडियोमा देव दोर्जे लामाको छायाङ्कन, मणिक पाख्रिनको आर्ट डाइरेक्सन र प्रबिन भट्टको सम्पादन तथा कलर संयोजन छ ।
भिडियो ‘नेपाल क्युब’ (Nepal Cube) युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।