काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा वैशाखभित्रै सार्वजनिक गर्ने गरी तयारीलाई तीव्र बनाएको छ । विगतका वर्षहरूमा परीक्षा सम्पन्न भएको करिब तीन महिनापछि मात्रै नतिजा आउने गरेकोमा यसपटक बोर्डले परीक्षा सकिएको एक महिनाभित्रै नतिजा ल्याउने गृहकार्य गरेको हो ।
परीक्षा नियन्त्रण कार्यालयका अनुसार अहिले विद्यार्थीहरूले प्राप्त गरेको प्राप्ताङ्क कम्प्युटरमा ‘इन्ट्री’ गर्ने कार्य सम्पन्न भइसकेको छ । अहिले इन्ट्री गरिएका नम्बरहरू रुजु गर्ने काम भइरहेको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।
विगतमा उत्तरपुस्तिका संकलन, ढुवानी र परीक्षणका लागि केन्द्रहरू निर्धारण गर्दा लामो समय खर्च हुने गरेको थियो । यस वर्ष भने बोर्डले उत्तरपुस्तिका परीक्षणको ‘मोडालिटी’ नै परिवर्तन गरेको छ ।
यस पटक उत्तरपुस्तिकालाई टाढाका केन्द्रहरूमा पठाउनुको सट्टा परीक्षा केन्द्र नजिकै परीक्षण गर्ने व्यवस्था मिलाइएको थियो । त्यसले गर्दा ढुवानी र केन्द्र व्यवस्थापनमा लाग्ने समय बचत भएपछि नतिजा तयारीको कामले गति लिएको हो ।
छिटो नतिजा सार्वजनिक गर्दा विद्यार्थीहरूको नयाँ शैक्षिक सत्र समयमै सुरु हुने र लामो समय नतिजाको पर्खाइमा रहँदा हुने मानसिक तनावसमेत कम हुने बोर्डको विश्वास छ ।
गत चैत १९ देखि सुरु भई २९ गते सम्पन्न भएको एसईई परीक्षामा देशभरबाट कुल ५ लाख १२ हजार ४ सय २१ परीक्षार्थी सहभागी भएका छन् ।