स्वास्थ्य उपचारका क्रममा करिब पाँच महिना सिंगापुर र हङकङमा रहेका नेपाली कांग्रेसका निवर्तमान सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा आज स्वदेश फर्किएका छन्।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका देउवालाई नेता तथा कार्यकर्ताले बाजागाजासहित स्वागत गरेका थिए। स्वदेश फर्किएलगत्तै अपिल जारी गर्दै देउवाले आफू शक्ति प्राप्त गर्न नभई राष्ट्रिय एकता सुदृढ गर्न नेपाल आएको बताएका छन्। उनले मुलुकमा प्रतिशोधभन्दा मेलमिलापको मार्ग आवश्यक रहेको उल्लेख गर्दै सर्वपक्षीय राष्ट्रिय एकतामा जोड दिएका छन्।
देउवाले नेपाली कांग्रेसभित्र देखिएको असहमति र निराशा तत्काल समाधान गर्नुपर्ने बताएका छन्। कांग्रेस एकताबद्ध भएर अन्य राजनीतिक दलसँग सहमति र सहकार्य गर्दै राष्ट्रियता तथा लोकतन्त्र सुदृढीकरणमा अघि बढ्नुपर्ने उनको भनाइ छ।
उनले कांग्रेसमा विवाद हुँदा राष्ट्रियता कमजोर हुन सक्ने चेतावनी दिँदै सबैको त्याग, बलिदान र संघर्षलाई सम्मान गरेर अघि बढ्न आग्रह गरे। देउवाले आफूले राजनीतिक रूपमा लिनुपर्ने केही नरहेको भन्दै युवालाई नेतृत्वमा अघि बढाउनुपर्ने, तर पाका तथा अनुभवी नेताहरूलाई खराब देखाउने भाष्य गलत भएको बताए। उनले पार्टीभित्रका सबैको भावना जोडेर कांग्रेसलाई जनताको हितमा केन्द्रित बनाउन नेता–कार्यकर्तालाई अपिल गरेका छन्।